कुल्चिएर छोडेको फुल….

फेरी दिल खोलेर तिमी आउदिनौ थाहा छ
कुल्चिएर छोडेको फुल लाउदिनौ थाहा छ

कस्तो छ हाल खै कुन्नि अचेल उतातिर
भुलेर पनि यतासम्म धाउदिनौ थाहा छ

उतै छ प्यास उतै छ नदि उतै छ किनारा
छोडेर स्वर्ग झुपडी घर छाउदिनौ थाहा छ

यात्राको दुइपल भेटिएर छुटियौ के भो र
भोलिको यादमा कतै पाउदिनौ थाहा छ

मायाले हात थामेकी भए पराइ हुन्नथ्यौ
सम्झनामा प्रेम गीत गाउदिनौ थाहा छ

-ऋषि राम खवास

दोहा, कतार

पराइ सम्झ्यौ तर पनि ….

सबको आँखा लाग्ने गरि, फुल्नु हुदैनथ्यो
एक्लै एक्लै फूलबारीमा, डुल्नु हुदैनथ्यो

नजर सबको लोभी हुन्छ, राम्रो देखे पछि
मिठो बोलि, सबै संग, खुल्नु हुदैनथ्यो

आशा लाग्छ मिठो, बोलि बचन गरेपछि
तिमी प्रति झुक्दैथें म, भुल्नु हुदैनथ्यो

पराइ सम्झ्यौ तर पनि, मन खोल्दै थिएँ
रिसाएर अन्त कतै, झुल्नु हुदैनथ्यो

मैले देको सबै, आँखा चिम्ली निल्छ भनि
पानी संगै जहर बनि, घुल्नु हुदैनथ्यो

आह ! कत्ति राम्री उनि

मलाइ लिन घरमै डोली लिएर आउनु भनिन्
आँट र भरोसाको बोली लिएर आउनु भनिन्

चाहिदैन महंगा ति हिरा मोती सुनका गहना
घरबुनाको सारी र चोली लिएर आउनु भनिन्

लज्जावती सुबासिली आह ! कत्ति राम्री उनि
म अटाउने मनको झोली लिएर आउनु भनिन्

के के भयो हिजो अस्ति भुल्नु पर्छ सारा कुरा
अँधेरी रात पछिको भोलि लिएर आउनु भनिन्

बर्षामा उर्लने खहरे झैँ उर्लनु हुन्न रे यौबनमा
कलकल बग्ने शान्त खोली लिएर आउनु भनिन्

आजै सम्म मात्रै रैछ……

तिमी जस्तै म पनि त, यसै गरि मर्छु एकदिन
सबै पर्ने त्यो दैबको, महाजालमा पर्छु एकदिन

तेरो मेरो कति गरूँ, मरे पछी लानु के छ ?
सके सबको मन जित्ने, राम्रो काम गर्छु एकदिन

आजदेखी उकाली र, ओरालीमा एक्लै धाउछु
बिना तिमी खहरेको, ठाडो जंघार तर्छु एकदिन

भो ! चाहिदैन अब, रित्तो रित्तो मेरो संसार
अब पालो मेरो नै हो, छिट्टै बसाइ सर्छु एकदिन

आजै सम्म मात्रै रैछ, यो संसारको साथ हाम्रो
तिमी भेट्न तिम्रो लोकमा धर्तीबाट झर्छु एकदिन

सक्छौ भने तिम्रो मेरो

सक्छौ भने तिम्रो मेरो, प्रीतको कुरा लेख्नु
अनायासै भेटमा लाएको, मितको कुरा लेख्नु

कुनै बन्देज छैन, सबै सबै लेख्दा हुन्छ
अहित होइन सके सम्म, हितको कुरा लेख्नु

सधैँ त घाम र जुनको, बात भएन होला
आँखाबाट खसिदिने त्यो, शीतको कुरा लेख्नु

“व्यर्थै लाएछु झुठो माया, अपुरो भै बीचैमा टुट्यो”
मेरो आग्रह तिमीलाई यो, गीतको कुरा लेख्नु

हार त जिन्दगीको, पर्याय नै भइसकेछ
तर तिम्रो किताबमा मेरो, जितको कुरा लेख्नु

भरे फेरी तिमी सम्झी……

भरे फेरी तिमी सम्झी, रुनु छ सानी
सिरानीको खोल आँसुले, धुनु छ सानी

तिमी खुशी हुनु, जहाँ जस्तो भए पनि
एकान्तमा तिम्रै तस्बिर, छुनु छ सानी

झुक्किएर कतै मेरो, याद नआओस फेरी
नचाहेरै तिम्रो पराइ, हुनु छ सानी

भरे फेरी तिमी सम्झी, रुनु छ सानी
सिरानीको खोल आँसुले, धुनु छ सानी